सिकारमा रमाउँदै पर्यटक
बाग्लुङ | कात्तिक २१, २०७९
तस्बिर फाइल
बागलुङ : ढोरपाटन सिकार आरक्षमा वर्षको पहिलो सिकार याम चलिरहेको छ । विदेशी सिकारी नाउर र झारलको सिकारमा रमाइरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो याममा नौ नाउर र छ झारलको सिकार अनुमति दिएको थियो ।
केही सिकारी सिकार खेलेर फर्किसकेका छन् भने कोही आरक्ष पुग्ने सुरसारमा छन् । सिकार कम्पनी ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीका अनुसार तोकिएका कोटामध्ये पाँच नाउर र दुई झारलको सिकार भइसकेको छ ।
उहाँको कम्पनीमार्फत ढोरपाटन पुग्नुभएका जर्मन सिकारीले फागुने ‘ब्लक’मा झारलको सिकार गरेर फर्किसक्नुभएको छ । नाउर सिकारका लागि केही दिनमा अमेरिकन सिकारीसहित जाने तयारी भइरहेको प्रबन्ध निर्देशक पराजुलीले बताउनुभयो ।
‘बार्से’ ब्लकमा नाउरको सिकार गरिनेछ । “हाम्रो कम्पनीमार्फत नाउर सिकारका लागि क्यानेडियन नागरिक पनि आउने तय भएको थियो, अस्वस्थताका कारण अन्तिममा उहाँ आउन सक्नुभएन”, प्रबन्ध निर्देशक पराजुलीले भन्नुभयो, “अरु पनि केही सिकारी नआएका कारण तोकिएजति नाउर र झारलको सिकार नहुने भएको छ ।”
सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले दुई अमेरिकन सिकारी दोगाडी र घुस्तुङ ‘ब्लक’मा सिकार खेलेर गत मङ्गलबार फर्किएको बताउनुभयो । “यही कात्तिक २ गते आरक्ष पुगेको हाम्रो कम्पनीको सिकार टोली झण्डै दुई साता त्यहाँ बिताएर फर्किसकेको छ”, उहाँले भन्नुभयो, “यो यामको सिकार अब अन्तिमतिर आइपुगेको छ, आउँदो मङ्सिर दोस्रो साताभित्र सबै फर्किसक्छन् ।”
आरक्षमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् । बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा सिकार खुला हुन्छ । सिकार खेल्न खर्चिला पर्यटक ढोरपाटन आउँछन् ।
विभागले गराउने बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी सिकारीलाई नेपाल भित्र्याउँछन् । यो याममा एउटा नाउर सिकारमा रु २० लाख र झारललाई रु छ लाखसम्म राजस्व तिर्न कम्पनी तयार भएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक पराजुलीले बताउनुभयो ।
सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने गर्छ । कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहान्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् ।
सिकार पर्यटनमा विश्वमै प्रख्यात ढोरपाटन आउन विदेशीले लाखौँ खर्चन्छन् । उनीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । आधारशिविरबाट आरक्षका प्रतिनिधि, पथप्रर्दशक, भरिया, सहयोगीसहित उनीहरू सिकार ‘ब्लक’सम्म पुग्छन् । आधारशिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ‘ब्लक’मा पुग्न दुई÷तीनसम्म लाग्छ ।
सिकार टोली हतियारसहित सबै बन्दोबस्ती लिएर जाने गर्छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन् । सिकारीले ‘बल्क’ अनुसार तोकिएको सङ्ख्यामा नाउर र झारलको सिकार गर्न पाउने आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।
हरेक पाँचरपाँच वर्षमा गरिने नाउर र झारलको गणनाका आधारमा विभागले सिकारको कोटा तोक्ने गरेको उहाँको भनाइ छ । अहिले वर्षमा २० नाउर र ११ झारलको सिकार गरिँदै आएको छ । सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट पेसेवर सिकारी ढोरपाटन आउँछन् ।
सौखिन र खर्चिला सिकारी पर्यटकको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । एक हजार तीन सय २५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ । ढोरपाटनको सिकार पर्यटनबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व राज्यको ढुकुटीमा जम्मा हुन्छ ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

